तीन दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न लोसपाको निर्देशन

4 वर्ष पहिले प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको चुनावकालागि तीन दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । बिहीबारदेखि वडा, गाउँपालिका, नगरपालिका र जिल्लामा उम्मेदवार चयन र चुनावी गठबन्धनबारे निर्णय गर्न बैठकहरू बसिरहेका छन् । लोसपाका केन्द्रीय सदस्य केशवकुमार झाले केन्द्रीय समितिले चैत्र २८ गतेसम्म ७७ वटै जिल्लालाई उम्मेदवारहरूको नाम केन्द्रमा पठाउन निर्देशन दिइएको बताए ।

‘हामीले केन्द्रबाट सबै जिल्लामा पर्यवेक्षकहरू खटाएका छौँ, चुनावमा उम्मेदवार चयन र तालमेलबारे जिल्ला र स्थानीय तहमासमेत छलफल भइरहेको छ,’ उनले भने, ‘पहिले वडा र पालिकाले उम्मेदवार चयन गरेर जिल्लालाई पठाउने र जिल्लाले चैत्र २८ गते पर्यवेक्षकहरूमार्फत् केन्द्रीय समितिमा पठाउँछन् ।’

उनले चुनावमा पार्टीका उम्मेदवारको जितलाई आधार बनाएर देशभर उम्मेदवारी दिने बताए । ‘पार्टीले देशभरि उम्मेदवारी दिन्छ, त्यसमा चुनावी गठबन्धनको पनि कुरा छ,’ उनले भने, ‘तर गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा केन्द्रले निर्णय गर्दैन । कहाँ कोसँग गठबन्धन गर्दा चुनावको परिणाम हातमा पर्छ, त्यहाँ आवश्यकताका आधारमा गठबन्धन गर्ने भन्ने निर्णय भएको छ, त्यहीअनुसार हुन्छ ।’

लोसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेलसहित सरकारमा जानेबारे छलफल गरेपनि त्यो निष्कर्षमा पुगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?