पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी लाई गरे जसपाबाट निष्कासित

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १७ गते ।जनता समाजवादी पार्टी (जसपा) पर्साले सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी चौधरी (थरुइन)लाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको नीति र सिद्धान्तविपरीत काम गरेको भन्दै उनलाई जसपाबाट निष्कासन गरेको हो ।

उपाध्यक्ष चौधरीलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपा पर्सा अध्यक्ष राम नरेश यादवले जानकारी दिए । ‘उपाध्यक्षको पछिल्ला गतिविधि पार्टी हितविपरीत देखियो । अन्य पार्टीसँग साँठगाँठ पनि बढेको छ,’ उनले भने ।
काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेर पार्टी प्रवेश गरेको चर्चा चले पनि उपाध्यक्ष थरुइनले भ्रम फैलाइएको भन्दै विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेकी थिइन् ।

उनका श्रीमान् शिवनाथ थारु नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका अध्यक्ष छन् । थारु सखुवा प्रसौनीस्थित दिपनारायण आदर्श माविका प्रधानाध्यापक हुन् ।पछिल्लो पटक गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवाललाई दुव्र्यवहार गरेको र पार्टीको केन्द्रीय अध्यक्ष आएको कार्यक्रममा जानुको साटो आफैं गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास गरेपछि पार्टीमा उनीप्रति असन्तुष्टि बढेको थियो ।

उपाध्यक्ष थरुइनले गत फागुन २२ गते अध्यक्ष जयसवालले आफूमाथि हातपात गरेको अरोप लगाएकी थिइन् । तर पछि उनले नै हातपात गरेको भिडियो बाहिरिएको थियो ।

अध्यक्ष जयसवालले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरीसमेत दिएका थिए । पछि उपाध्यक्ष थरुइन पनि जाहेरी लिएर गएकी थिइन् । प्रहरीले एउटै मुद्दामा दोहोरो जाहेरी लिन नमानेपछि उनले सरकारी वकिल कार्यालयबाट जाहेरी दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?