आठ लाख घुसकाण्डमा मुछिएका अध्यक्ष जाडोमा चाहिने ब्ल्यांकेट गर्मीमा बाँड्दै
4 वर्ष पहिले प्रकाशित
चैत १५ गते ।
अहिले तराई-मधेशमा चर्को गर्मी छ। मौसम तात्ने क्रमसँगै मानिसहरु गर्मी छल्ने उपायको खोजीमा छन्।
तराई–मधेशबासीहरु गर्मीसँग जुध्न यति बेला आफ्नो हैसियत अनुसार कुलर,पंखा र एसी जस्ता विद्युतीय सामान धमाधम किनिरहेका छन्।
एकातिर मौसमी गर्मीको पारो चढ्दैछ भने अर्कातिर चुनावी सरगर्मीले पनि तराई-मधेशलाई तताएको छ।
यी दुवै गर्मीबीच तराई-मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ। मानिसहरु गर्मी छल्ने उपाय खोजीमा जुटेका बेला एकजना गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल यतिबेला बाँडेर मतदाता फकाउँदैछन्।
यस्तो गर्मीमा पनि व्यांकेट वितरण गरिरहेको सुन्दा तपाईँलाई आश्चर्य लाग्न सक्छ।
तर धनुषको बटेश्वर गाउँपालिकाले जाडोको बेला बाँड्नुपर्ने न्यानो कम्बल अहिले धमाधम बाँडिरहेको छ।
गाउँपालिकाले मंगलबार पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ।
यसअघि आठ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले गर्मीका बेला जाडोमा चाहिने कम्बल बाँडिरहेको स्थानीयले बताएका छन् ।
जाडो महिनामै बाँड्नु पर्ने कम्बल त्यति बेला वितरण गर्न नसक्दा अहिले वितरण गरिको एकजना जनप्रतिनिधिले बताए।
यी गाउँपालिका अध्यक्ष राउत तिनै हुन्, जसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीको छापापछि १९ चैत २०७७ मा ८ लाख रुपैयाँ घुस सडकमा फ्याँकेर भागेका थिए।
अख्तियारको टोली आएको थाहा पाएपछि अध्यक्ष राउत घुस लिएको रकम फ्याँकेर फरार भएका थिए।
अख्तियारको टोलीले त्यसबेला अध्यक्ष राउत चढ्ने गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो।
अख्तियारले अध्यक्षको प्र–२– ०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो।
विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन अध्यक्ष राउतले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएका थिए।
कमेन्ट गर्नुहोस्
view comments