सिरहामा साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ
20 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ११ गते । सिरहाको गोलबजारमा साइकलयात्रीलाई ठक्कर दिएर भागेका स्कर्पियो चालकलाई प्रहरीले तीन दिनपछि गाडीसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६:५५ बजे गोलबजार नगरपालिका–४, निपनिया टोलको पूर्व–पश्चिम राजमार्गमा सिल्भर रंगको स्कर्पियोले ठक्कर दिँदा साइकलयात्री बसन्त महराको मृत्यु भएको थियो। गोलबजारबाट निपनिया चोकतर्फ जाँदै गरेका करिब ५० वर्षीय महरालाई ठक्कर दिएर स्कर्पियो फरार भएको थियो। गम्भीर घाइते उनको गोलबजार हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कर्पियो पहिचान गरेको थियो। इलाका प्रहरी कार्यालय गोलबजार र धनगढीबाट खटिएको संयुक्त टोलीले मंसिर १० गते बिहान करिब १०:५० बजे धनगढीमाई नगरपालिका–९, जिरोमाइलस्थित एक घरमा लुकाएर राखिएको स्कर्पियो फेला पारेको हो। सोही क्रममा सिरहाको मिर्चैया नगरपालिका–४, बाह्नबिघाका करिब ४२ वर्षीय चालक बिहारी महरालाई पक्राउ गरिएको छ। चालकलाई गाडीसहित गोलबजार इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments