अयोध्या जान अब सहज, सरयू–कमला एक्सप्रेसको टिकट बुकिङ सुरु; यस्तो छ भाडादर
9 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १० गते । जनकपुरधामबाट भारतको अयोध्या यात्रा गर्ने यात्रुका लागि रेल टिकट बुकिङ सुरु भएको छ । अयोध्या र जनकपुरधामलाई जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ का लागि भारतीय रेलवेले अनलाइन टिकट आरक्षण खुला गरेसँगै यात्रुले अब आईआरसीटीसीको वेबसाइट तथा मोबाइल एपमार्फत टिकट लिन सक्नेछन् । रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ । फर्किने रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्याबाट प्रस्थान गरी मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्ने समयतालिका तय गरिएको छ ।
रेलवेले यात्रुका लागि चार श्रेणीको भाडादर निर्धारण गरेको छ । स्लिपर क्लासको टिकट भारतीय ३६५ रुपैयाँ, एसी थ्री टियर इकोनोमीको ८८५ रुपैयाँ, एसी थ्री टियरको ९६५ रुपैयाँ र एसी टु टियरको १ हजार ३६० रुपैयाँ तोकिएको छ । नेपाली मुद्रामा यी भाडा क्रमशः करिब ५८४, १ हजार ४१६, १ हजार ५४४ र २ हजार १७६ रुपैयाँ पर्छन् । यस रेलमा नेपाल र भारतका नागरिकले मात्र वैध परिचयपत्रका आधारमा यात्रा गर्न पाउनेछन् । तत्काल टिकट र आरएसी सुविधा नरहेकाले यात्रुले कन्फर्म टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ । जयनगरमा सुरक्षा तथा आवश्यक जाँचको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
view comments