राहुलको बलिङ, मोइनको ब्याटिङले चम्कियो जनकपुर, काठमाडौं ८ विकेटले ढल्यो

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १२ गते ।  राहुल यादवको घातक बलिङ र मोइन अलीको अविजित अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो। काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। मोइन अलीले ५१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५८ रन बनाए भने साइफ हसनले ३६ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४६ रन जोड्दै जितको आधार तयार गरे।

यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाडौं जनकपुरका बलरसामु टिक्न सकेन। टोली १९.२ ओभरमा ११५ रनमै समेटियो। काठमाडौंका लागि भीम सार्कीले ३३ रन बनाउँदा राशिद खानले १७ र स्मित पटेलले १३ रन जोडे। जनकपुरका राहुल यादवले ४ विकेट लिए भने साइफ हसनले २ तथा मोइन अली र ललित राजवंशीले समान १ विकेट हात पारे। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुरले दोस्रो खेलमै पुनरागमन गर्दै जित निकालेको छ। काठमाडौंले भने प्रतियोगिताको सुरुवात हारबाट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?