सिरहामा ट्याक्टरका ब्याट्री चोरीको आरोपमा सप्तरीका दुई युवक पक्राउ
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २ गते । सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट ट्याक्टरका ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले सप्तरीका दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका–२ डिगिया टोलका २५ वर्षीय दिपेशकुमार यादव र २२ वर्षीय राजेशकुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत कात्तिक ३० गते राति भगवानपुर गाउँपालिका–३ र ५ का विभिन्न बस्तीबाट ट्याक्टरका ब्याट्री चोरी भएका थिए। घटनाबारे मंसिर १ गते प्रहरी चौकी ठाडीमा निवेदन परेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजीका क्रममा सोही दिन साँझ सप्तरीको बलान बिहुल गाउँपालिका–२ बाट भारततर्फ जाँदै गरेको बीआर ३२ एवाई ३४२१ नम्बरको मोटरसाइकल जाँच गर्दा तीन थान ब्याट्री फेला परेको प्रहरीले जनाएको छ। दिपेशकुमार यादवले चलाएको मोटरसाइकलमा शंकास्पद अवस्थामा ब्याट्री लैजाँदै गरेको देखेपछि प्रहरीले रोकेको थियो। अनुसन्धानका क्रममा बरामद ब्याट्री भगवानपुरबाट चोरी भएका सामानसँग मेल खाएपछि दिपेशलाई पक्राउ गरिएको र थप अनुसन्धानबाट राजेशको समेत संलग्नता खुलेपछि दुवैलाई नियन्त्रणमा लिइएको हो। बरामद ब्याट्री र मोटरसाइकलसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments