मधेसको सत्ता समीकरणमा नयाँ मोड, जसपा नेपालको नेतृत्वमा सरकार बन्ने संकेत

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २ गते । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल तीव्र बनेसँगै प्रदेशको सत्ता नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपालको हातमा पुग्ने सम्भावना बढेको छ। जसपा नेपाल, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भइरहेको संवादमा जसपाको नेतृत्वमा सरकार बनाउने र अन्य दुई दलले समर्थन गर्ने प्रारम्भिक समझदारीको प्रयास भइरहेको नेताहरूले बताएका छन्। यद्यपि मुख्यमन्त्रीको उम्मेदवार, मन्त्रालय बाँडफाँट र सरकारमा दलहरूको सहभागिताबारे अन्तिम निर्णय भइसकेको छैन। मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानअनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंसिर ४ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन्।

प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपा नेपालले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राखेको छ। नेकपाका नेता भरतकुमार साह र जसपा नेपालका नेता मनिषकुमार सुमनले पनि नयाँ सरकारको नेतृत्व जसपाले गर्ने सम्भावना बलियो रहेको बताएका छन्। तर जसपा नेपालका नेता जितेन्द्र सोनार र एमाले संसदीय दलका नेता सरोजकुमार यादवले नेतृत्व तथा सरकारको स्वरूपबारे औपचारिक सहमति हुन बाँकी रहेको स्पष्ट पारेका छन्। १०३ सदस्यीय प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३ र नेकपाका १५ सांसद छन्। यी तीन दल एक ठाउँमा उभिए ६५ सांसदको समर्थन पुग्नेछ, जुन सरकार गठनका लागि आवश्यक बहुमतभन्दा निकै बढी हो। यसअघि कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि राजीनामा दिन बाध्य भएको थियो। छोटो अवधिमै पटकपटक मुख्यमन्त्री फेरिएको मधेस प्रदेशमा अबको राजनीतिक सहमतिले सरकारको नेतृत्व मात्र होइन, प्रदेशको आगामी राजनीतिक स्थिरताको दिशा पनि निर्धारण गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?