गाउँसभा सञ्चालनमा हस्ताक्षर किर्तेको आरोप, बसबरियाका अध्यक्ष राय पक्राउ
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २ गते । गाउँसभामा अनुपस्थित वडा सदस्यको हस्ताक्षर नक्कली बनाएर सरकारी कागजात तयार गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले मंगलबार साँझ करिब ५ बजे गाउँपालिका–१ स्थित उनकै निवासबाट ५५ वर्षीय रायलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०८० असार १० गते सम्पन्न गाउँसभामा सहभागी नभएकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी सभा सम्पन्न भएको विवरण तयार पारिएको आरोप उनीमाथि छ। उक्त हस्ताक्षरका आधारमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
उजुरीपछि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिएका छन्। पक्राउ परेका गाउँपालिका अध्यक्षमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments