छठले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउने प्रधानमन्त्री शाहको विश्वास

18 घन्टा पहिले प्रकाशित

काठमाडौं, कार्तिक २९ गते ।  प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र सकारात्मक सोचको विकासमा योगदान पुर्‍याउँदै सुशासन, सामाजिक न्याय तथा समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। छठ पर्वको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्। सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वलाई प्रकृति र आस्थासँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक परम्पराका रूपमा उल्लेख गर्दै उनले उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य दिने चलनले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थाको सम्मान गर्न सिकाउने बताएका छन्।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठको धार्मिक तथा सांस्कृतिक महत्त्व उल्लेख गर्दै प्रधानमन्त्री शाहले पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्पराको स्मरण गरेका छन्। सरकारले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले छठले नेपाली समाजमा आपसी सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। उनले मैथिली भाषामा समेत शुभकामना दिँदै ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि’ भनेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?