मौसमले बदल्यो उडानको गन्तव्य, सिमराबाट उडेको बुद्ध एयर जनकपुर झर्‍यो

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २१ गते । खराब मौसमका कारण सिमराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजलाई जनकपुर विमानस्थलमा डाइभर्ट गरिएको छ। बुधबार बिहान १०ः३० बजे सिमरा विमानस्थलबाट उडेको बुद्ध एयरको यू४ ५५४ उडान काठमाडौंको आकाशमा पुगेपछि करिब ३० मिनेट होल्ड भएको थियो। काठमाडौं विमानस्थलमा वर्षासँगै दृश्यता कम भएपछि सुरक्षित अवतरणमा समस्या देखिएपछि जहाजलाई जनकपुरतर्फ मोडिएको हो। जहाज करिब १२ः३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको जनाइएको छ।

विमानका कर्मचारीका अनुसार मौसम र विमानस्थलको अवस्था अनुकूल भए करिब ३० मिनेटपछि जहाज जनकपुरबाट पुनः काठमाडौंका लागि उड्ने तयारी छ। बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा दृश्यता कमजोर रहेकाले आन्तरिक हवाई उडान प्रभावित भएका छन्। मौसममा सुधार नआए उडान तालिका थप प्रभावित हुन सक्ने विमानस्थल स्रोतले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?