उज्जैनमा शाही मस्जिदको भाग हटाउने क्रममा तनाव, १० जना हिरासतमा

13 घन्टा पहिले प्रकाशित

एजेन्सी, असोज १२ गते । भारतको मध्यप्रदेशस्थित उज्जैनमा सडक विस्तारका लागि शाही मस्जिदको एक भाग हटाउने क्रममा सोमबार तनाव उत्पन्न भएको छ। मस्जिदको प्रभावित भाग हटाउने क्रममा प्रदर्शनमा उत्रिएका केही व्यक्तिले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ। घटनामा केही प्रहरीसमेत घाइते भएका छन्। प्रहरीले हालसम्म १० जनालाई हिरासतमा लिएको छ, जसमध्ये पाँच जनामाथि सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर वातावरण बिगार्न खोजेको आरोप लगाइएको छ भने अन्य पाँच जना उज्जैनबाहिरका व्यक्ति रहेको प्रहरीले जनाएको छ। घटनापछि क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

शाही मस्जिदको प्रभावित भाग उज्जैनको कंठाल चौराहादेखि गोपाल मन्दिरसम्मको सडक विस्तार योजनाअन्तर्गत हटाउन लागिएको हो। सिंहस्थ २०२८ को तयारीसँगै उक्त सडकलाई फराकिलो बनाउने योजना अघि बढाइएको छ। प्रशासनका अनुसार मस्जिदको करिब ९ फिट लामो र ४ फिट चौडा भाग सडक विस्तारको सीमामा परेको छ। तनावपछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने करिब २ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ। मस्जिद व्यवस्थापन तथा मुस्लिम समुदायका केही व्यक्तिले प्रभावित भाग आफैं हटाउन थालेको विवरणसमेत सार्वजनिक भएको छ। उज्जैनका शहर काजीले भने विवाद राति नै सहमतिमा समाधान भएको दाबी गर्दै अफवाहमा विश्वास नगर्न र अनावश्यक रूपमा घटनास्थलमा नजान आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?