उत्तराखण्डमा भारी वर्षाको रेड अलर्ट, चारधाम यात्रा अस्थायी रूपमा स्थगित

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, असोज ११ गते ।  भारतको उत्तराखण्डमा भारी वर्षाको रेड अलर्ट जारी भएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै चारधाम यात्रा अस्थायी रूपमा स्थगित गरिएको छ। प्रशासनले २६ सेप्टेम्बर दिउँसोदेखि २७ सेप्टेम्बरसम्म बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्रीतर्फको यात्रा रोक्ने निर्णय गरेको हो। गढवाल आयुक्तले सम्बन्धित जिल्लाका प्रशासनलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन्। श्रद्धालु तथा यात्रुलाई मौसम सामान्य नहुँदासम्म यात्रा नगर्न र सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ। साथै, खराब मौसमका कारण केदारनाथतर्फको हेलिकोप्टर सेवा पनि अस्थायी रूपमा रोकिएको छ।

भारतीय मौसम विभागका अनुसार देहरादून, टिहरी, हरिद्वार र पौडी जिल्लामा भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ भने चमोलीका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। बद्रीनाथ धाम र हेमकुण्ड साहिब क्षेत्रमा हिमपातका कारण चिसोसमेत बढेको छ। मौसममा सुधार आएपछि चारधाम यात्रा तथा केदारनाथको हेलिकोप्टर सेवा पुनः सञ्चालन गर्ने सम्बन्धमा आवश्यक सूचना जारी गरिने प्रशासनले जनाएको छ। मौसम प्रतिकूल रहेकाले यात्रु तथा पर्यटकलाई प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?