बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ घाइते
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, श्रावण २५ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। आइतबार राति कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरबाट बन्दीपुरतर्फ आउँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिँदा उनीहरू घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार दुर्घटना राति करिब ८ बजे भएको हो।
दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुरका १३ वर्षीय अनुराग मण्डल, १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गङ्गिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादवसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पठाइएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments