दसैँका लागि सिँगारियो राजदेवी मन्दिर, दर्शन व्यवस्थापनमा ५० स्वयंसेवक खटाइने
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज २६ गते । दसैँको आगमनसँगै जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ। मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको मन्दिरमा विजयादशमीका अवसरमा हुने विशेष पूजाआराधनालाई भव्य बनाउन मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म झिलिमिली बत्ती, कृत्रिम फूलमाला र तोरणले सिँगारिएको राजदेवी मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ। राजा जनककी कुलदेवीका रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा महाअष्टमी, महानवमी र विजयादशमीका दिन मिथिला क्षेत्रका विभिन्न स्थान, अन्य जिल्ला तथा भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु दर्शनका लागि आउने गर्छन्। यस वर्ष पर्वलाई थप आकर्षक बनाउन सजावटसँगै सांस्कृतिक कार्यक्रम र मनोरञ्जनका सामग्रीको व्यवस्था गरिएको छ।
पूजाआराधना र दर्शन व्यवस्थापनमा विशेष तयारी
महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहका अनुसार पूजाआराधना र दर्शनलाई व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी ५० जना स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ। मूलपूजा, कालरात्रि पूजा, महाप्रसाद वितरण, खोइँछ भराई, लाइन व्यवस्थापन, रावणदहन, विजय जुलुस, सरसफाइ तथा मनोरञ्जन मेलाका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ। भक्तजनको सुरक्षाका लागि सिसिटिभीबाट निगरानी गर्ने, प्रवेशद्वारमा स्वयंसेवक खटाउने र महिला तथा पुरुषका लागि छुट्टाछुट्टै दर्शन लाइन बनाउने व्यवस्था मिलाइएको छ। बोका बलिको रसिद शुल्क बढाउने वा यथावत् राख्ने विषयमा पूजा समितिको बैठकबाट निर्णय गरिने साहले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्
view comments