रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण २१ गते । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर मृग बचाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएपछि अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।
ट्याङ्कर चालक समिर गुरुङका अनुसार ट्याङ्कर पल्टिएलगत्तै आगो सल्किएको थियो। चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट पुगेका दमकलको सहयोगमा बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भएको छैन र महेन्द्र राजमार्गमा सवारी आवागमन पनि सुचारु रहेको छ।
प्रहरीका अनुसार बाराको सिमरा उपमहानगरपालिका–११ निवासी करिब २५ वर्षीय चालक समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ। घटना चन्द्रपुर नगरपालिकादेखि करिब १३ किलोमिटर पश्चिमस्थित जङ्गल क्षेत्रमा भएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments