सप्तरीमा भीषण मोटरसाइकल दुर्घटना, दुई जनाको ज्यान गयो
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण १९ गते । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीस्थित महुवा खोलानजिक सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पकरीबाट बथनाहातर्फ जाँदै गरेको प्रदेश २–०१–००६ प २४९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको कल्भर्टमा ठोक्किएको हो। दुर्घटनामा चालक महादेवा गाउँपालिका–१ रामटोलका ३५ वर्षीय सन्तोष राम र पछाडि सवार सोही स्थानका ३७ वर्षीय शंकर राम गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते सन्तोष रामको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शंकर रामलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments