महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण १९ गते । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भई उखुबारीमा पल्टिएको हो।
दुर्घटनामा चालक गौशाला–५ का ४० वर्षीय विजय भुजेल, गौशाला–११ का १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, गौशाला–९ का १३ वर्षीय उमर शेख र गौशाला–११ का ६ वर्षीय आदर्श कुशवाहा घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको खुट्टा, नाक र कम्मरमा चोट लागेको छ। चालक भुजेल र उमर शेखलाई थप उपचारका लागि बीके अस्पताल गौशालामा भर्ना गरिएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
घटनालगत्तै प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments