मिथिलामा आजदेखि मधुश्रावणी पर्व सुरु, नवविवाहित मिथिलानी १३ दिन व्रत र पूजामा
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण १८ गते । मिथिला क्षेत्रमा नवविवाहित महिलाले मनाउने परम्परागत मधुश्रावणी पर्व आजदेखि सुरु भएको छ । साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिन मनाइने यस पर्वका लागि नवविवाहित मिथिलानीहरू माइत पुगेका छन् । शिव, गौरी (पार्वती) र विषहरा (नागदेवता) को पूजा गरिने यो पर्व वैवाहिक जीवन सुखमय, प्रेम सम्बन्ध प्रगाढ तथा दीर्घ दाम्पत्यको कामनासँग जोडिएको छ । पर्वको विशेष आकर्षण ‘फूललोढी’ विधि हो, जसअन्तर्गत नवविवाहित महिलाहरू सखीसँग प्रणयभावका लोकगीत गाउँदै साँझ फूल संकलन गर्न निस्कन्छन् र भोलिपल्ट त्यही बासी फूलले पूजा गर्ने परम्परा छ ।
मिथिला संस्कृतिका जानकारका अनुसार मधुश्रावणी केवल धार्मिक अनुष्ठान मात्र नभई नवविवाहित महिलाबीच आत्मीयता, हासपरिहास र दाम्पत्य अनुभव साटासाट गर्ने सांस्कृतिक अवसर पनि हो । पर्वमा ज्येष्ठ महिलाले विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, समुद्र मन्थन तथा शिव–पार्वतीसँग सम्बन्धित पौराणिक कथाहरू सुनाउने चलन छ । पहिले ब्राह्मण, कायस्थ, देव र सोनार समुदायमा सीमित यो पर्व अहिले सम्पूर्ण मिथिला समाजको साझा सांस्कृतिक पर्व बनेको छ ।
व्रत अवधिभर सात्विक भोजन, दैनिक पूजा, कथा श्रवण र ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने परम्परा रहिआएको छ । पर्वका लागि आवश्यक वस्त्र, पूजा सामग्री र शृङ्गार सामग्री पतिघरबाट माइत पठाउने चलन पनि कायम छ । १३औँ दिन पूजा सम्पन्न गरी बेलपत्र र फूल नदी वा पोखरीमा विसर्जन गरिन्छ । परम्परागत रूपमा १२औँ दिन ‘टेमी’ दिने चलन रहे पनि पछिल्ला वर्षहरूमा यसलाई परिमार्जन गर्दै आगोको सट्टा चन्दनको लेप लगाउने अभ्यास बढ्न थालेको छ । संस्कृतिविद्हरूका अनुसार मधुश्रावणी पर्वले प्रेम, विश्वास, पारिवारिक सद्भाव र मिथिला लोकसंस्कृतिको जीवन्त परम्परालाई पुस्तान्तरण गर्ने महत्वपूर्ण सन्देश बोकेको छ।
कमेन्ट गर्नुहोस्
view comments