सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म आवतजावत खुला

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १७ गते ।  जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु खुकुलो बनाएको छ। आइतबार जारी सूचनाअनुसार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो।

प्रशासनले स्थानीय परिस्थितिको विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने विषयमा पुनः सूचना जारी गरिने जनाएको छ। यद्यपि शान्ति–सुरक्षा कायम राख्न तोकिएको अवधिमा पनि पाँच जनाभन्दा बढीको समूहमा भेला हुन नपाइने व्यवस्था भने यथावत् राखिएको छ।

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मधेस प्रदेशका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो। उक्त घटनामा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने उपचारका क्रममा जयप्रकाश मेहताको समेत मृत्यु भएको थियो।

घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन भएका थिए। सोही क्रममा सिरहाको लहानमा भएको प्रदर्शनमा गोली लागेर गणेश यादवको मृत्यु भएपछि सिरहामा समेत सुरक्षा व्यवस्था कडा पारिएको थियो। पीडित परिवार र सरकारबीच सहमति भएपछि अवस्था सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। यसअघि शनिबार लहान क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?