सप्तरीमा शान्ति र सामाजिक सद्भावका लागि बृहत् सद्भाव र्याली
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण १७ गते । पेशागत सञ्जाल (पापड) सप्तरीको आयोजनामा जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी भाइचारा सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत् सद्भाव र्याली आयोजना गरिएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बसेको पापडको बैठकले शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको निष्कर्षसहित र्याली गर्ने निर्णय गरेको थियो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शान्ति र सद्भावका लागि प्रशासनबाट अनुमति प्राप्त र्यालीमा तोकिएको अवधिभित्र कर्फ्यु आदेश लागू नहुने सूचना जारी गरेपछि र्याली सहज रूपमा सम्पन्न भएको हो। र्यालीमा प्रतिनिधिसभा सदस्य डा. अंकिता ठाकुर, स्थानीय जनप्रतिनिधि, विभिन्न पेशागत संघ–संस्था, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी, मुस्लिम समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले राजविराज नगर परिक्रमा गर्दै शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचाराको सन्देश प्रवाह गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments