जनकपुरमा गृहमन्त्री र हिन्दु धार्मिक मोर्चाबीच १३ बुँदे मागमा सहमति, आन्दोलन स्थगित

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १७ गते । जनकपुरमा आन्दोलनरत हिन्दु धार्मिक मोर्चा र गृहमन्त्री सुधन गुरुङबीच भएको दुई चरणको वार्तापछि विभिन्न मागका विषयमा सहमति भएको छ। १३ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको मोर्चासँग छलफल गर्न गृहमन्त्री शनिबार जनकपुर पुगेका थिए। जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भूदेव झाका अनुसार दुवै पक्षबीच सहमति कायम भएको छ।

वार्तामा प्रस्तुत १३ बुँदे मागमध्ये १२ वटा माग तत्काल कार्यान्वयनतर्फ सरकारले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ। नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागका विषयमा भने सरकारले तीन महिनाको समय मागेपछि त्यसमा पनि सहमति जुटेको बताइएको छ। वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, प्रतिनिधिसभा सदस्य मनिष झा, मधेस प्रदेश सरकारका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए। सुनसरी घटनाको विरोधमा आन्दोलनमा उत्रिएको मोर्चाले हिन्दु राष्ट्रको मागसहित विभिन्न धार्मिक तथा सामाजिक विषय समेटिएका माग अघि सारेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?