गुरुपूर्णिमा आज : गुरुजनप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गरिँदै

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १३ गते । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा आज देशभर श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ। शिक्षा, दीक्षा र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्पराअनुसार आज शिष्यहरूले आफ्ना गुरुको सम्मान गर्दै आशिर्वाद लिने गरेका छन्। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरुपूर्णिमाका रूपमा मनाउने प्रचलन रहेको छ।

धार्मिक विश्वासअनुसार वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्नुका साथै १८ पुराण, १८ उपपुराण र महाभारतको रचना गरी हिन्दू धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। गुरुपूर्णिमाका अवसरमा विद्यालय, कलेज तथा विभिन्न संघ–संस्थाले विशेष कार्यक्रम आयोजना गरी गुरुजनप्रति सम्मान व्यक्त गरिरहेका छन्। धर्मशास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भएकाले अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने व्यक्तिलाई गुरु मान्ने परम्परा आज पनि नेपाली समाजमा कायम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?