देवानगञ्ज गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण १२ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वा र धनगढीमाई नगरपालिकाको कसहामा स्थानीयले प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र प्रहरी दमन अन्त्यको माग गर्दै प्रदर्शनकारीहरूले केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रदर्शनका क्रममा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको राजीनामासमेत माग गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीसँगको छलफलपछि करिब आधा घण्टापछि सडक सञ्चालनमा आएको छ। सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सिरहासहित विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ। सम्भावित तोडफोड र अप्रिय घटना रोक्न सिरहाका विभिन्न राजमार्ग क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments