मिटरब्याजीको नाममा ठगी रोक्न जनकपुरका साहु–महाजनको माग, सीडीओमार्फत सरकारलाई ज्ञापनपत्र

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १२ गते ।  वास्तविक लगानी कारोबारको संरक्षण, मुलुकी देवानी संहिताको प्रभावकारी कार्यान्वयन तथा मिटरब्याजीका नाममा हुने ठगी नियन्त्रण गर्न माग गर्दै जनकपुरधामका साहु–महाजनहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा वास्तविक पीडितले न्याय पाउनुपर्नेमा पूर्ण समर्थन जनाउँदै झुटा दाबी गर्ने व्यक्तिहरूको पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ। साथै, मिटरब्याजी पीडितका नाममा भइरहेको आन्दोलनको आडमा केही व्यक्तिले वास्तविक ऋण तिर्ने दायित्वबाट उम्किन खोजेको आरोप पनि लगाइएको छ।

ज्ञापनपत्रमा मेहनतको कमाइ, पेन्सन वा सम्पत्ति बिक्री गरेर विश्वासका आधारमा ऋण लगानी गरेका व्यक्तिहरू नै उल्टै पीडित बन्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै मुलुकी देवानी संहिता, २०७४ को प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। बैंक खाताको विवरण, तमसुक, सावाँ रकमको कारोबारलगायतका प्रमाणका आधारमा वास्तविक पीडित र नियतवश ऋण नतिर्न खोज्ने व्यक्तिबीच स्पष्ट पहिचान गर्न, झुटा उजुरीमाथि कानुनी कारबाही गर्न, वैधानिक लगानीको सावाँ–ब्याज असुली सुनिश्चित गर्न तथा मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लुइटेलले मागहरू सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै वास्तविक पीडितले न्याय पाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?