भारतको जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि कांग्रेसको सरकारसँग पहल गर्न आग्रह

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १२ गते ।  नेपाली कांग्रेसले भारतको जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि कूटनीतिक र कानुनी पहल गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमार्फत बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई तत्काल रिहा गराउन आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

कांग्रेसका अनुसार नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि उनीहरू भारतीय सीमावर्ती बजार सोनबरसाबाट दुई बोरा युरिया र डीएपी मल खरिद गरी फर्किने क्रममा असार १७ गते भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए। असार १८ गतेदेखि उनीहरू बिहारको सीतामढीस्थित डुमरा कारागारमा रहेका छन्। कांग्रेसले उनीहरू व्यावसायिक कारोबारका लागि नभई आफ्नै खेतमा प्रयोग गर्न मल खरिद गर्न गएको उल्लेख गर्दै नेपाल–भारतबीचको खुला सीमा र मानवीय सम्बन्धलाई ध्यानमा राखी भारत सरकारसँग पनि मानवीय आधारमा उनीहरूको तत्काल रिहाइको व्यवस्था गर्न आग्रह गरेको छ। साथै, उनीहरूको रिहाइका लागि दायर गरिएको निवेदनमाथि साउन १५ गते सुनुवाइ हुने तय भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?