देवानगञ्ज गोलीकाण्डलाई नेकपाले भन्यो ‘राज्य आतङ्क’, निष्पक्ष छानबिनको माग

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण १२ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु तथा दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई ‘राज्य आतङ्क’को संज्ञा दिँदै घोर भर्त्सना गरेका छन्।

नेकपाका अनुसार साउन ११ गते दुई पक्षबीचको विवाद नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–४ का ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। विज्ञप्तिमा निहत्था नागरिकमाथि घुँडाभन्दा माथि गोली प्रहार गर्नु गम्भीर अपराध, मानवअधिकार उल्लङ्घन तथा गैरन्यायिक हत्याको उदाहरण भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?