महोत्तरीमा तीन वर्षीय बालकको मृत्यु प्रकरण : १५ वर्षीया नाबालिका नियन्त्रणमा

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ७ गते । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाका तीन वर्षीय मनिकेश कुमार यादवको मृत्यु प्रकरणमा प्रहरीले एक १५ वर्षीया नाबालिकालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। कानुनी व्यवस्थाअनुसार प्रहरीले नाबालिकाको पहिचान सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जेठ २२ गते साँझ घरबाहिर खेलिरहेका मनिकेश बेपत्ता भएका थिए। दुई दिनपछि जेठ २४ गते उनको शव घरनजिकैको पानी पोखरीमा सिमेन्टको बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। शवसँगै बालकले लगाएको चाँदीको बाला हराएको विषयले अनुसन्धानलाई थप गहिरो बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा शंकाको आधारमा साउन ५ गते एक नाबालिकालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक बयानमा साइकलले ठक्कर दिएपछि बालकको मृत्यु भएको थाहा पाएर घटना लुकाउने उद्देश्यले शव बोराभित्र राखी पोखरीमा फालेको र चाँदीका बाला निकालेर लुकाएको स्वीकार गरेको प्रहरीको दाबी छ। प्रहरीले ती बाला बरामद गरिसकेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी पञ्चलाल गोलेका अनुसार नाबालिकाविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?