धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

1 दिन पहिले प्रकाशित

  • बाराको सुवर्ण गाउँपालिकामा खेल्ने क्रममा धान खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
  • घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जनकपुरधाम, श्रावण ४ गते । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ। मृतक महागढीमाई नगरपालिका–९ बलुवाका राजेन्द्र महतोकी छोरी लालु कुमारी महतो हुन्।

प्रहरीका अनुसार केही दिनदेखि मामा घरमा बस्दै आएकी बालिका आइतबार साँझ करिब ५ः३० बजे घरपछाडिको धान खेतमा खेल्ने क्रममा पानीमा डुबेकी थिइन्। परिवारका सदस्यले तत्काल उद्धार गरी बाहिर निकाले पनि उनको ज्यान बचाउन सकेनन्।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी चौकी बड्कीफुलबरियाबाट असई राम विद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा फरेन्सिक टोलीसहितको टोलीले घटनास्थलको अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ। घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?