मलङ्गवामा सात होटेललाई जरिबाना, दुई पानी उद्योगमाथि कारबाही
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार २६ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा मलङ्गवामा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका सात होटेललाई जरिबाना गरिएको छ भने दुई पानी उद्योगमाथि कारबाही गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्राविधिकसहितको टोलीले बुधबार साँझ गरेको अनुगमनमा अखाद्य वस्तु बिक्री, सरसफाइमा लापर्बाही तथा गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको पाइएपछि कारबाही गरिएको हो।
अनुगमनमा कुसुम पार्टी प्यालेस एन्ड होटेललाई सबैभन्दा बढी एक लाख पाँच हजार रुपैयाँ जरिबाना गरिएको छ। यस्तै ग्रिन बेम्बो, न्यू हट अप र पञ्चवटी होटेललाई १५–१५ हजार तथा नवरङ्ग, महेन्द्र र अन्नपूर्ण होटेललाई २०–२० हजार रुपैयाँ जरिबाना गरिएको छ। साथै, हातले पानी भर्ने गरेको जोया वाटर इन्डस्ट्रिज (प्रेम वाटर) को उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ भने नवीकरणसमेत नभएको साह ग्रुप अफ इन्डस्ट्रिज (ब्ल्यु वाटर) बन्द गराइएको छ।
मन्त्री महतोले अधिकांश होटेलको भान्सा अत्यन्त फोहोर रहेको, कुहिएका तथा अखाद्य सामग्री प्रयोग गरिएको र सरसफाइमा गम्भीर लापर्बाही देखिएको बताए। अनुगमनका क्रममा बरामद भएका अखाद्य खाद्यवस्तु नष्ट गरिएको मन्त्रालयले जनाएको छ। यसअघि सर्लाहीका अन्य क्षेत्रका होटेलमा गरिएको अनुगमनमा पनि एक दर्जन होटेललाई चार लाख रुपैयाँभन्दा बढी जरिबाना गरिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments