नहरमा महिलाको शव फेला, घटनाबारे अनुसन्धान सुरु
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार २५ गते । रौतहटको राजपुर नगरपालिका–३ स्थित राजपुर–फतुवा सडकखण्ड छेउको नहरमा बिहीबार बिहान एक महिलाको शव फेला परेको छ। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार मृतक परोहा नगरपालिका–५ निवासी शेख मोबिनकी २४ वर्षीया श्रीमती मुस्कान खातुन हुन्। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। उनी यसअघि पनि घरबाट हराएकी थिइन् र खोजतलासका लागि प्रहरीमा उजुरी परेको थियो। मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments