जनकपुरधामका गुठी जग्गा संरक्षण गर्न ९ सदस्यीय कार्यान्वयन समिति गठन

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २५ गते ।  धनुषास्थित राम–जानकी मन्दिरलगायत विभिन्न मठ–मन्दिरअन्तर्गतका गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण तथा व्यवस्थापन गर्न सरकारले ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गर्दै बृहत्तर जनकपुर क्षेत्रभित्रका मन्दिर, पोखरी, पोखरीका डिल तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनको जिम्मेवारी दिएको जनाएको छ।

समितिले अतिक्रमित मन्दिर परिसर, पोखरी र पोखरीका डिलको रेखाङ्कन गरी सम्बन्धित व्यक्तिलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न सूचना जारी गर्नेछ। अन्य गुठी जग्गामा बनेका घर–टहरा हटाउन १५ दिनको समय दिइनेछ भने अटेर गरे स्थानीय प्रशासनको सहयोगमा थप १५ दिनभित्र अतिक्रमण हटाइने मन्त्रालयले जनाएको छ। साथै, अतिक्रमण हटाउने कार्य सम्पन्न भएपछि १५ दिनभित्र प्रगति प्रतिवेदन मन्त्रालयमा बुझाउन समितिलाई निर्देशन दिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?