प्रेस स्वतन्त्रता संरक्षणमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना
8 घन्टा पहिले प्रकाशित
काठमाडौं, असार २१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पार्दै लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेको उल्लेख गरे। प्रेस स्वतन्त्रता हनन गर्न खोजिएको भन्ने आशंकाप्रति सरकार गम्भीर रहेको बताउँदै उनले संविधानले सुनिश्चित गरेको अधिकारको कार्यान्वयनमा कुनै अवरोध भए त्यसको समाधानका लागि कानुनी तथा संस्थागत व्यवस्था रहेको धारणा राखे।
मन्त्री तिमिल्सिनाले पत्रकारिता लोकतन्त्रको चौथो अंग भएकाले यसलाई थप बलियो, विश्वसनीय, संस्थागत र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताए। प्रेस स्वतन्त्रतासम्बन्धी कुनै गुनासो वा समस्या भए संवाद र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चार कानुन, प्रेस स्वतन्त्रता तथा जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहस आवश्यक रहेको बताइन्। उनले संघीय सञ्चार कानुनको स्वरूप, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा पत्रकारहरूको व्यावसायिक उत्तरदायित्वलाई सम्मेलनका प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिन्।
कमेन्ट गर्नुहोस्
view comments