असोजमा भारतलाई ५ अर्ब ९२ करोडको बिजुली बेच्यो नेपाल

2 घन्टा पहिले प्रकाशित

काठमाडौं , कार्तिक ८ गते ।  बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारतमा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार उक्त अवधिमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत निर्यात गरिएको हो। गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत बिक्रीबाट प्राप्त आम्दानी बढेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भारतको हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय विद्युत बिक्री सम्झौता तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत बिजुली बेच्दै आएको छ। सम्झौताअनुसार जुनदेखि अक्टोबरसम्म हरियाणा र बिहारमा विद्युत बिक्री गरिन्छ भने बाँकी विद्युत डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा निर्यात गरिन्छ। वर्षायाममा आन्तरिक माग पूरा गरेपछि बचत हुने विद्युत भारतसँगै बंगलादेशमा समेत बिक्री हुँदै आएको छ। बाढीबाट उत्पादनमा अवरोध सिर्जना भए पनि निर्यात आम्दानी बढ्नु नेपालको विद्युत व्यापारका लागि सकारात्मक संकेत हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?