पत्रकार महासंघ धनुषाको साधारणसभामा संघीयता, प्रेस स्वतन्त्रता र सामाजिक सञ्जालका चुनौतीमाथि बहस
17 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज २३ गते । नेपाल पत्रकार महासंघ धनुषा शाखाको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले संघीयताले आर्थिक भार बढाएको भन्ने भाष्य तथ्यमा आधारित नभएको बताउनुभयो। उहाँले संघीयता नरुचाउने पक्षबाट यस्तो भाष्य निर्माण भइरहेको दाबी गर्दै संघीयताको सकारात्मक पक्षबारे बहस गर्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो। सामाजिक सञ्जालबाट पत्रकारहरू भयभीत हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले सूचना प्रवाहका लागि सामाजिक सञ्जालले माध्यम उपलब्ध गराए पनि विश्वसनीय समाचार र लेखनको गुणस्तरमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौती बढेको बताउँदै सरकारले संविधानप्रदत्त अधिकारको पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले आवश्यक परे नागरिक समाजसँग मिलेर अधिकार रक्षाका लागि आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो।
कार्यक्रममा महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा मात्र निर्भर नभई निजी क्षेत्रबाट समेत विज्ञापन जुटाउन र विश्वसनीयता कायम राख्न आग्रह गर्नुभयो। महासंघका महासचिव रामप्रसाद दाहालले लोककल्याणकारी विज्ञापनको विषयमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पत्रकारसँग टकराव नगर्न चेतावनी दिनुभयो। साधारणसभाका अवसरमा ‘धन्य धनुषा’ स्मारिका विमोचन गरिएको थियो। कार्यक्रममा स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार रिंकु मिश्र गायत्री, रामभरत साह–कनकलता उत्कृष्ट प्रतिभा पत्रकारिता पुरस्कार अशोक दत्त तथा अनिता चौधरी पत्रकारिता पुरस्कार मो. इन्तेखाब आलमलाई प्रदान गरियो। पत्रकार सपना कर्णलाई पत्रकारितासम्बन्धी उच्च शिक्षाका लागि छात्रवृत्ति पनि प्रदान गरिएको थियो। बन्द सत्रले सचिव बटुकनाथ झाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द महतोको आर्थिक प्रतिवेदन पारित गरेको आयोजकले जनाएको छ।




कमेन्ट गर्नुहोस्
view comments