भाइरल भिडियोपछि १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध मुद्दा दर्ता

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २१ गते ।  बाराको कलैया उपमहानगरपालिका–२१ भौडाहकी १३ वर्षीया सरिया खातुनको मृत्यु प्रकरणले सामाजिक सञ्जालमा हुने सार्वजनिक अपमान र त्यसका गम्भीर असरबारे प्रश्न उठाएको छ। परिवारका अनुसार गाउँकै केही युवाले उनलाई एक युवकसँग चौरमा बसेको भन्दै गालीगलौज, दुर्व्यवहार तथा अपमानजनक व्यवहार गरेका थिए। उक्त घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनी गहिरो मानसिक तनावमा परेकी थिइन्। त्यसको भोलिपल्ट असार १६ गते सरिया आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

घटनापछि परिवारले इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएपछि प्रहरीले सात जना युवाविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दर्ता गरेको छ। एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ भने अन्य आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको छ। सामाजिक सञ्जालमा फैलिएको भिडियो, स्थानीय बासिन्दाको बयान तथा परिवारको जाहेरीलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले भिडियोमा बालिकामाथि अपमानजनक व्यवहार गरिएको देखिएको बताउँदै घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?