मुआब्जा विवाद समाधानपछि जयनगर–बर्दिबास रेलमार्ग निर्माणले लियो गति

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २१ गते । जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत बाँकी १८ किलोमिटर खण्डको निर्माण कार्यले तीव्रता पाएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम अघि बढाएको छ। हाल धनुषा र महोत्तरी जिल्लामा रेल ट्र्याक निर्माणको काम तीव्र गतिमा भइरहेको छ। निर्माणाधीन ७० किलोमिटर लामो जयनगर–बर्दिबास रेलमार्गमध्ये जयनगर–कुर्था खण्डमा भने २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

यसैबीच, नेपाल रेल्वे कम्पनीले विभिन्न स्थानमा अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी तथा पहिचान प्रक्रिया पनि सुरु गरेको जनाएको छ। महाप्रबन्धक पराजुलीका अनुसार नक्साका आधारमा रेल्वे स्वामित्वका जग्गा खोजी गरी अतिक्रमण हटाउने तयारी भइरहेको छ। नेपाल–भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माणाधीन जयनगर–बर्दिबास ब्रोडगेज रेलमार्गलाई दुई देशबीचको महत्वपूर्ण सीमापार रेल परियोजनाका रूपमा हेरिएको छ। परियोजना सम्पन्न भएपछि आवागमन, व्यापार तथा आर्थिक गतिविधि सहज बन्नुका साथै नेपालको रेल पूर्वाधार विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?