धनुषाका १२ होटेल कारबाहीमा, अखाद्य सामग्री प्रयोग गरेको आरोप
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार २१ गते । धनुषाका विभिन्न होटेलमा गरिएको अनुगमनका क्रममा अखाद्य तथा म्याद गुज्रिएका खाद्यसामग्री प्रयोग भएको भेटिएपछि १२ वटा होटेललाई पाँच हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिबाना गरिएको छ। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्ग क्षेत्र तथा जनकपुरधामका विभिन्न होटेलमा छड्के अनुगमन गरेको थियो। अनुगमनका क्रममा गुणस्तर गुमेको तेलको पुनः प्रयोग, सरसफाइको न्यूनतम मापदण्ड उल्लङ्घन तथा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खाद्यसामग्री प्रयोग गरिएको फेला परेको जनाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार पछिल्लो पाँच दिनमा ५० भन्दा बढी होटेलको अनुगमन गरिएको छ। अधिकांश होटेलमा फोहोर भान्सा, झिँगा भन्किएको वातावरणमा खाना तयारी, पुरानो तेलको प्रयोग तथा मासुजन्य खाद्यसामग्री अस्वच्छ अवस्थामा राखिएको भेटिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैरेले कसुरको प्रकृतिअनुसार १२ होटेललाई उपभोक्ता हित संरक्षण ऐनबमोजिम कारबाही गरिएको जानकारी दिए। मन्त्री महतोले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने व्यवसायीलाई कडा चेतावनी दिँदै आगामी दिनमा अनुगमनलाई थप प्रभावकारी बनाइने बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments