मधेशको भाषा, कला र संस्कृतिको संरक्षणमा प्रभावकारी पहल आवश्यक : वक्ताहरू

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २१ गते । मधेश प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा धनुषाको कल्चर भिलेजमा आयोजित अन्तरक्रिया, नवप्रतिभा खोजी तथा सम्मान कार्यक्रममा सहभागी वक्ताहरूले मधेशका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रभावकारी र योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले मौलिक भाषा, संस्कृति र पहिचान जोगाउन पर्याप्त बजेट, संस्थागत सुदृढीकरण तथा सरोकारवाला सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्। कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले भाषा, कला र संस्कृतिको संरक्षण प्रदेश सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा प्रदेशका आठवटै जिल्लामा देखिने गरी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले सीमित स्रोत–साधनका बाबजुद प्रतिष्ठानले भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताए। उनीहरूले प्रतिष्ठानअन्तर्गत मधेशका सबै भाषा, साहित्य र संस्कृतिको समान रूपमा संरक्षण र प्रवर्द्धन हुनुपर्ने, कलाकार तथा स्रष्टाको योगदानको उचित मूल्याङ्कन गरिनुपर्ने तथा संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्था गर्नुपर्ने धारणा राखे। प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशका आठवटै जिल्लाबाट सहभागी कलाकार, साहित्यकार र बुद्धिजीवीहरूले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणलाई साझा अभियानका रूपमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सहमति जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?