भुक्तानी रोकिएपछि धनुषाका निर्माण व्यवसायीद्वारा सरकारी कार्यालयमा तालाबन्दी

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १७ गते । निर्माण सम्पन्न भएका तथा अन्तिम चरणमा पुगेका योजनाको भुक्तानी रोकिएको विरोधमा निर्माण व्यवसायी सङ्घ धनुषाले जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा तालाबन्दी गरेको छ। आर्थिक वर्षको अन्तिम दिनसम्म पनि भुक्तानी प्रक्रिया अघि नबढेपछि निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। सङ्घका पूर्वमहासचिव विनोद कर्णले सडक, भवन, सिँचाइ लगायतका पूर्वाधार आयोजनाको काम सम्पन्न भइसक्दा पनि सरकारले भुक्तानी नदिँदा व्यवसायीहरू गम्भीर आर्थिक सङ्कटमा परेको बताएका छन्।

निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, मजदुरको पारिश्रमिक, निर्माण सामग्री आपूर्तिकर्ताको भुक्तानी तथा बैंक ऋण तिर्न कठिन भएको गुनासो गरेका छन्। यता, पूर्वाधार विकास कार्यालय जनकपुरधामका प्रमुख सञ्जीवकुमार साहले गैरआवासीय भवन निर्माण शीर्षकमा आवश्यक पूर्वस्वीकृति नलिइएको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालयबाट भुक्तानी रोक्न पत्र प्राप्त भएको जानकारी दिए। अर्थ मन्त्रालयबाट आवश्यक अनुमति वा बाधा अड्काउ फुकुवा आदेश आएपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?