विद्यालय बसको ठक्करबाट सहचालक र पाँच वर्षीया बालिकाको मृत्यु

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १७ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पर्सामा विद्यालय बसले किच्दा बसका सहचालक र एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका अनुसार पायोनियर एजुकेसन स्कुलको को.१ ख ३५९९ नम्बरको बसले किच्दा २२ वर्षीय सहचालक ओमप्रकाश यादव र शिशु कक्षामा अध्ययनरत पाँच वर्षीया समीक्षा साहको ज्यान गएको हो। घटना मंगलबार अपराह्न विद्यार्थीलाई घर पुर्‍याउने क्रममा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिका समीक्षा बसबाट ओर्लिएपछि बस अगाडि बढ्ने क्रममा उनी र सहचालक यादव पछाडिको चक्कामुनि परेका थिए। दुवैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। घटनापछि बस चालक फरार भएका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक समीक्षा साह सप्तरीको बोदेबरसाइन नगरपालिका–८ निवासी गजेन्द्र साहकी छोरी हुन् र उनी मावलीघर सिरहाको पर्सामा बस्दै विद्यालयमा अध्ययन गरिरहेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?