तीन सवारीसाधन ठोक्किँदा किशोरको मृत्यु, दुई जना घाइते

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १६ गते ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा विमानस्थल नजिक डुमरवाना–सिमरा भित्री सडकखण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा पर्साको वीरगञ्ज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सराफ गम्भीर घाइते भएका थिए। टाउको, छाती र मुखमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको स्कुटरले अगाडि गइरहेको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा स्कुटरमा पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन् भने मोटरसाइकल चालक २९ वर्षीय रइफुल आलम अन्सारीको हात र खुट्टामा चोट लागेको छ। उनको थप उपचार वीरगञ्जस्थित अस्पतालमा भइरहेको छ। घटनामा संलग्न ट्र्याक्टर चालक ७० वर्षीय शिवराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?