जनकपुरको ऐतिहासिक विवाह मण्डप अव्यवस्थित, प्रवेशद्वारमै दुर्गन्ध फैलिने अवस्था

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १५ गते । जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा चिनिने विवाह मण्डप पछिल्लो समय अव्यवस्थित बन्दै गएको देखिएको छ। नगरभरि विकास निर्माणका काम भइरहेको दाबी गरिए पनि जनकपुरको प्रमुख पर्यटकीय तथा धार्मिक सम्पदामध्ये एक विवाह मण्डपको अवस्था भने चिन्ताजनक बनेको छ। मण्डप परिसरका विभिन्न संरचना जीर्ण र भत्किने अवस्थामा पुगेका छन् भने बीचभागमा रहेको वाटर फाउन्टेन लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। यसले यहाँ भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकमाझ नकारात्मक सन्देश जाने स्थानीयवासीको गुनासो छ।

त्यति मात्र होइन, मन्दिर परिसरको मुख्य प्रवेशद्वारभित्रै मरेका माछा राखिएको र दुर्गन्ध फैलिएको दृश्यले सरसफाइ तथा व्यवस्थापनको अवस्था झन् उजागर गरेको छ। धार्मिक दृष्टिकोणले पवित्र मानिने मन्दिर क्षेत्र स्वच्छ, व्यवस्थित र मर्यादित हुनुपर्ने भए पनि हालको अवस्थाले श्रद्धालु तथा पर्यटकलाई असहज बनाइरहेको छ। जनकपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै सम्बन्धित निकायले तत्काल सरसफाइ, संरक्षण तथा व्यवस्थापनमा आवश्यक पहल गर्नुपर्ने आवश्यकता देखिएको छ। जनकपुरको पहिचानसँग जोडिएका यस्ता सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?