चोरी भएको मोटरसाइकल ३० मिनेटमै फेला, दुई जना पक्राउ
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार १० गते । रौतहटको गरुडा नगरपालिका–४ बाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकल प्रहरीले ३० मिनेटभित्रै बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र २० वर्षीय राम नारायण यादव रहेका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
मंगलबार साँझ करिब ६:३० बजे घरअगाडि पार्किङ गरी राखिएको बा.प्र.०२–०४१ प ३८४९ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको थियो। प्रहरी चौकी धर्मपुरबाट खटिएको टोलीले गढीमाई नगरपालिका–६ स्थित धरमपुर गाउँबाट निस्कने एकमात्र पुलमा निगरानी बढाई चेकजाँच सञ्चालन गरेको थियो। सोही क्रममा साँझ ७ बजे चोरी भएको मोटरसाइकलसहित दुवै आरोपीलाई पक्राउ गरिएको डीएसपी आचार्यले जानकारी दिए। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments