विद्युतीय चुलो प्रवर्द्धनमा स्थानीय तहको चासो, धुवाँरहित भान्साको अभियानमा जोड

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २ गते ।  मधेस प्रदेशमा विद्युतीय चुलोको प्रयोग विस्तार गरी धुवाँरहित भान्साको अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। लालगढमा आयोजित विद्युतीय चुलो प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले स्वदेशी विद्युतको अधिकतम उपयोग गर्दै स्वास्थ्य, वातावरण र अर्थतन्त्रका दृष्टिले विद्युतीय चुलोलाई प्रभावकारी विकल्पका रूपमा अघि बढाउनुपर्ने बताएका हुन्। कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले धुवाँयुक्त भान्साले विशेषगरी महिला तथा बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने उल्लेख गर्दै घर–घरमा विद्युतीय चुलोको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जित नारायण यादवले आफ्नो पालिकाले दुई वर्षअघि इन्डक्सन चुलो तथा आवश्यक भाँडाकुँडा वितरण गरी विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गरेको जानकारी दिनुभयो। सहभागी गृहिणीहरूले विद्युतीय चुलो सुरक्षित, सहज र स्वास्थ्यका लागि लाभदायक रहेको अनुभव साझा गरेका थिए। ऊर्जा विज्ञ मोहनदास मानन्धरले विद्युतीय चुलोको प्रयोग बढाउन भरपर्दो विद्युत आपूर्ति, ट्रान्सफर्मर क्षमता विस्तार तथा नियमित मर्मत–सम्भार आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले विद्युत अवरोध, अपर्याप्त ट्रान्सफर्मर क्षमता र खराब मौसमका कारण हुने आपूर्ति समस्याको समाधान बिना विद्युतीय चुलोको व्यापक प्रयोग चुनौतीपूर्ण हुने धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?