ठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह हाजिर जमानीमा रिहा

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २ गते । ठगी मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साहले पीडित पक्षलाई ठगीको रकम बुझाएपछि सोमबार साँझ उनलाई हाजिर जमानीमा रिहा गरिएको हो। प्रहरीका अनुसार उनले चार लाख ५० हजार रुपैयाँ बिगो रकम पीडितलाई बुझाएको निस्सा पेश गरेपछि थप हिरासतमा राख्न आवश्यक नदेखिएकाले रिहा गरिएको हो।

साहलाई ठगी सम्बन्धी कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। सकुन्तला अधिकारीको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। घटनासम्बन्धी थप कानुनी प्रक्रिया भने जारी रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?