धुलो प्रदूषण नियन्त्रण गर्न बहादुरपुर गाउँभित्र माटो ढुवानीमा रोक

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ३१ गते ।  रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुर गाउँभित्र ट्रेक्टरमार्फत माटो ढुवानी नगर्न वडा कार्यालयले सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई निर्देशन दिएको छ। लालबकैया नदी किनारबाट विभिन्न निर्माण तथा भरण कार्यका लागि अत्यधिक मात्रामा माटो ओसारपसार हुँदा गाउँभित्र धुलो प्रदूषण बढेर स्थानीयवासीको जनजीवन प्रभावित भएको गुनासो आएपछि वडाध्यक्ष चन्दन कुशवाहाले सार्वजनिक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू गरेका हुन्। वडा कार्यालयका अनुसार धुलोका कारण वातावरण प्रदूषित हुनुका साथै सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको र आवतजावतमा समेत समस्या सिर्जना भएको छ।

स्थानीयवासीको स्वास्थ्य, स्वच्छ वातावरण र सार्वजनिक हितलाई मध्यनजर गर्दै बहादुरपुर गाउँको भित्री सडक प्रयोग गरी माटो ढुवानी नगर्न आग्रह गरिएको वडा कार्यालयले जनाएको छ। सूचनाको बेवास्ता गरेमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ। यसअघि गाउँको सडकमा जमेको धुलो र हिलो हटाउन वडाध्यक्ष कुशवाहाको पहलमा स्थानीय युवाहरूले सरसफाइ अभियान सञ्चालन गरेका थिए। सरसफाइपछि पुनः धुलो प्रदूषण नबढोस् भन्ने उद्देश्यले ढुवानी नियन्त्रणको निर्णय गरिएको जनाइएको छ। स्थानीयवासीले पनि वातावरण संरक्षण र जनस्वास्थ्यका लागि सबै पक्षले नियमको पालना गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?