सर्लाहीमा इभी गाडीको ठक्करबाट महिलाको मृत्यु, अर्की एक घाइते

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ३१ गते । सर्लाहीको बागमती नगरपालिका–९ स्थित निर्माण चोकमा आइतबार बिहान इभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छन्। बिग्रिएर अटोको सहायताले मर्मतका लागि तानिँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०७७६ नम्बरको इभी हायस गाडीले पैदल हिँडिरहेका स्थानीय ५५ वर्षीया जयकुमारी देवी र ४० वर्षीया पुनमदेवी यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै महिलालाई उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा जयकुमारी देवीलाई प्रादेशिक अस्पताल कलैया पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार घाइते पुनमदेवी यादवको कलैयास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न इभी गाडी, अटो तथा दुवै सवारी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?