रास्वपा धनुषा सभापति लक्ष्मेश्वर यादव निलम्बित, अनुशासन आयोगको अन्तरकालीन आदेश
8 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गर्दै अन्तरकालीन आदेश जारी गरेको छ। आयोगले पार्टीको विधान, आचारसंहिता, कार्यविधि तथा मूल्य–मान्यताअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको, कार्यक्षमताको अभाव देखिएको, पदीय क्षेत्राधिकार मिचेको, अनावश्यक हस्तक्षेप गरेको तथा समूहगत राजनीतिलाई प्रोत्साहन गरेको लगायतका आरोपमा विभिन्न उजुरी परेपछि उक्त निर्णय गरेको जनाएको छ। आयोगले यसअघि यादवसँग स्पष्टीकरण मागेको र प्राप्त जवाफ अध्ययनपछि थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको हो।
आयोगले थप प्रमाण संकलन र विश्लेषण गरी अन्तिम निर्णय नआएसम्मका लागि यादवलाई जिल्ला सभापतिको जिम्मेवारीबाट पदमुक्त गरेको जनाएको छ। साथै, तत्काल प्रभावबाट लागू हुने गरी अर्को सूचना जारी नहुँदासम्म जिल्ला सभापतिको हैसियतमा कुनै पनि कार्य सम्पादन गर्न, पार्टी गतिविधिमा सहभागी हुन वा आधिकारिक उपस्थित जनाउन नपाउने अन्तरकालीन आदेश जारी गरिएको छ। उक्त निर्णयको बोधार्थ पार्टीका केन्द्रीय नेतृत्व, संगठन विभाग, मधेश प्रदेश कार्यसमिति, प्रदेश अनुशासन आयोग तथा जिल्ला अनुशासन आयोगलाई समेत पठाइएको छ।

कमेन्ट गर्नुहोस्
view comments