ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङलाई जरिवाना

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २६ गते ।  प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले कारबाही गरेको छ। सामाजिक सञ्जालमा मोबाइल फोनबाट भिडिओ खिच्दै मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) (ग) बमोजिम लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा जरिवाना गरेको हो। नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत प्राप्त जनगुनासोका आधारमा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको जनाएको छ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी होमप्रसाद अधिकारीका अनुसार सम्बन्धित मोटरसाइकलको विवरण जाँच गर्दा सवारीसाधन अझै शोरूमकै नाममा रहेको पाइएपछि चालक हर्क साम्पाङको नाममा जरिवाना रसिद जारी गरी शोरूमलाई जिम्मा लगाइएको छ। पहिलो पटकको कसुर भएकाले उनलाई ५०० रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ। एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडिओ खिच्ने क्रममा साम्पाङ दुर्घटनामा समेत परेका थिए। ट्राफिक प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत साम्पाङमाथि जनगुनासोका आधारमा कारबाही भइसकेको जानकारीसमेत सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?